कैलालीको अत्तरियामा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन
अत्तरिया, २४ जेठ- कैलालीको अत्तरियामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।






उच्च ओहदामा बसेर देश र संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र युथ कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले अत्तरिया चोकमा आज साँझ पुत्ला दहन गरेको हो ।


प्रधानमन्त्री ओलीले ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा निकासी गर्ने कार्यक्रम ल्याएको र उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएको भन्दै त्यसको बिरोध स्वरुप बिद्यार्थीहरुको युवा टोलीले दुवै जनाको पुत्ला दहन गरेको युथ कांग्रेस कैलाली क्षेत्र नम्बर ४ सदस्य लोकराज ओझाले जानकारी दिए ।

युवाहरुको टोलीले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । पुत्ला दहन गरिरहेको बेला ईलाका प्रहरी कार्यालयवाट खटिएको प्रहरीको टोलीले त्यसलाई रोकेको थियो । त्यसबेला केही तनाब समेत सिर्जना भएको थियो ।
पुत्ला दहन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता कृष्ण राज ओझा, तरुण दलका युवा नेता बिरवहादुर महरा, हरि महरा र युथ कांग्रेस कैलाली क्षेत्र नम्बर ४ संयोजक प्रकाश बोहरा लगायतका विद्यार्थी तथा युवा नेताहरूको सहभागिता रहेको थियो ।




