

धनगढी- कैलालीको चुरे गाउँपालिकाका बिभिन्न क्षेत्रमा बसोबास गर्दै आइरहेका पहिरो पीडितबारे छानबिन गर्न गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले माग गरेका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बोगटीले छानबिन पछि मात्रै वन कार्यकालले उनीहरूलाई वन क्षेत्रबाट अटाउनु पर्ने बताएका थिए ।



२०७६ को पहिरो पछि विस्थापित भएर बसेकाहरूका बिषयमा छानबिन गर्न उनले माग गरेका हुन् । यहाँ रहेका चार सय १८ परिवार मध्ये आधा भन्दा बढि वास्तविक पीडित भएको भन्दै ती पीडितको बिषयमा सरकार गम्भीर बन्नु पर्ने र उनीहरूलाई व्यवस्थापन गर्नु पर्ने अध्यक्ष बोगटीले बताए ।


वनले अहिले बसिरहेको क्षेत्रबाट उठाएमा वास्तविक पीडितको बिचल्ली हुने कुरातर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । यसअघि पीडितहरूको व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालय, संघीय सरकारका विभिन्न निकायमा पटक पटक धाउँदा समेत कुनै सुनवाइ नभएको अध्यक्ष बोगटीले गुनासो गरे ।





