

डोटी- डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई उक्त पुरस्बाट पुरस्कृत गरेको हो ।


आर्थिक वर्ष २०७९र८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ ।पुरस्कृत भएका किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका प्रमुख तथा निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।



किसानको कृषि क्षेत्रमा पछिल्लो समय प्रमुख समस्याको रुपमा जंगली जनावर रहेकाले यसको समाधान गरिनु पर्ने पुरस्कृत हुनु भएका किसान हरिलाल जैशीले बताए । यसैगरी अर्का किसान कर्णबहादुर बलायरले आफू पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नु हुँदै अबको आफ्नो लक्ष्य भनेको जिल्लाकै नमूना कृषक बन्ने रहेको जानकारी गरे ।
लामो समय रोजगारीको लागि भारतमा बसेका उहाँ हाल बाख्रा पालन पेसामा संलग्न हुनु भएको छ । पुरस्कृत हुनु भएका किसानहरुले जिल्लाका अन्य कृषकलाई पनि बाँझो जमिनलाई खेती योग्य बनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले अब गाउँगाउँमा कृषि क्रान्ति गर्न आवश्यक देखिएको बताए ।
बाँझो जमिनमा खेती गर्न किसानलाई उत्प्रेरित गर्दै सरकारले आवश्यक नीति ल्याउनुपर्ने उनको धारणा छ । किसानलाई अनुदानको व्यवस्थासहित कृषि क्षेत्रलाई बढवा दिँदा शिक्षा, स्वास्थ्यमा पनि स्वतः सुधार हुने प्रदेश कृषि निर्देशक जोशीले बताए । उनले भने, ‘किसानलाई अनुदान सहितको व्यवस्था गर्दा धेरै कुरामा फाइदा पुग्ने देखिन्छ, किसानलाई अगाडि बढाउन निर्देशनालय तयार छ ।’