

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र दर्ता हुने निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।



समानुपातिक तर्फको नामावली पनि शनिबार नै पेश गर्नुपर्ने निर्वाचन कार्यतालिका छ। साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका छ। निर्वाचन कार्यतालिका अनुसार भोलि दाबी विरोध, छानबिन र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।


देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ। सत्ता साझेदार दलका विद्यार्थी संगठनले तालमेल गरेर चुनावमा जाने तयारी गरेका छन्। उनीहरूले नेकपा (एमाले) निकट अनेरास्ववियु विरुद्ध गठबन्धनको तयारी गरेका हुन्।
प्रत्येक दुईरदुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यसयता नभएको निर्वाचन यो वर्ष हुन लागेको हो।