राष्ट्रपतिको कदम विरुद्ध कैलालीका एमाले लगायत पाँच राजनीतिक दल विरोधमा
अत्तरिया, १० जेठ- कैलालीमा क्रियाशील बिभिन्न ५ दलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलता तर्फ धकेलिएको ठहर गरेको छ । नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै समयमा निर्वाचन नगरेर सत्ता टिकाउने रणनीति रहेको आरोप लगाइएको छ ।
उनीहरुले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् । ‘राष्ट्रपतिले दोस्रो पटक चालेको प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलता तर्फ धकेलिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन नगराई आफ्नो निरङ्कुश सत्ता लम्बाउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थामा गुज्रिरहेका नेपाली जनाएको जीवनस्तरलाई झन् बढि कष्टकर बनाउँदै मुलुकलाई थप संकटोन्मुख दिशा तर्फ निदृष्टि गरेको छ ।’

प्रतिनिधि सभा विघटन गर्ने निणर्यले मुलुकमा राजनीतिक अनिश्चय, अन्यौलता र अराजकता निम्त्याउने दाबी पाँच दलको छ । उनीहरुले त्यसको विरोध गर्दै त्यस विरुद्ध उत्रने घोषणा गरेका छन् । बिज्ञप्तिमा समावेशी लोकतन्त्र एवम् राष्ट्रिय हितको रक्षार्थ दृढतापूर्वक अघि बढ्न आग्रह गरिएको छ ।
बिज्ञप्तिमा नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बम, नेकपा माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, नेकपा एमाले (माधव समूह) कैलालीका सचिव बिमल जोशी, जसपा नेपाल कैलालीका अध्यक्ष गया प्रसाद कुश्मी, राष्ट्रिय जनमोर्चा कैलालीका सचिव जगत प्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
