


अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले सडक छेउका ठेलाछाप्रा एवं टहरा हटाउन पुनः सूचना निकालेको छ । नगरपालिकाले बुधबार नगरपालिका क्षेत्रभित्रका मुख्य तथा सहायक सडकछेउमा अनाधिकृत रुपमा सडक तथा पेटीमा पर्नेगरी राखिएका ठेलाछाप्रा, निर्माण गरिएका टहरा, टिनको छानो (पाली) र सडक पेटीमा राखिएका मालसामानहरु हटाउन भन्दै सूचना निकालेको हो ।



२१ गतेभित्र ठेलाछाप्रा, टहरा आदि हटाई बजार व्यवस्थापन कार्यमा सहयोग गर्न भनिएको छ । त्यस्तै अत्तरिया बजार क्षेत्रभित्र रहेको नाला अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य पूर्वाधारहरु ९० दिनभित्र हटाउन पनि भनिएको छ । तोकिएको समयभित्र स्वस्फूर्त रुपमा नहटाए कानुन बमोजिम कारबाही हुने सूचनामार्फत जनाइएको छ ।


यसअघि नगरपालिकाले भदौ १७ गते ७ दिनभित्र सडकको अतिक्रमण हटाउन भन्दै सूचना जारी गरेको थियो । सो सूचनाको म्याद सकिएको २० दिनपछि नगरपालिकाले पुनः अतिक्रमण हटाउन भन्दै सूचना निकालेको हो ।






