आकार घटाएर बजेट ल्याउँदै सुदूरपश्चिम सरकार




अत्तरिया, ३१ जेठ– सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार घटाएर आगामी आर्थिक वर्ष २०७८\०७९ को बजेट ल्याउने तयारी गरेको छ । आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने तयारी गरेको छ ।


आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले बजेटको सबै तयारी पूरा भएको बताए। उनकाअनुसार बजेटको आकार चालु आर्थिक वर्षकोभन्दा कम हुनेछ । २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो ।



चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी महामारी नियन्त्रण केन्द्रित बजेट आउने बताए ।
‘मन्त्रालयले आत्मनिर्भरताको विशेष कार्यक्रमसहित प्रदेश गौरवका बहुवर्षीय आयोजना तथा क्रमागत योजना सम्पन्न गर्न बजेटमा जोड दिइने जनाएको छ । राजनीतिक किचलोमा अल्झिएको सुदूरपश्चिम सरकारले ऐन संशोधन गरी छोटो बाटोबाट नीति तथा कार्यक्रम ल्याएको थियो ।
सुदूरपश्चिम प्रदेशमा अघिल्ला वर्षहरुमा बजेट ल्याउनुपूर्व जेठ १५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम ल्याएर प्री–बजेट छलफल हुने गरेको थियो । तर, यसवर्ष भने २७ जेठमा मात्रै प्रदेशसभामा नीति तथा कार्यक्रम पेश भएको थियो । सरकारले चालू आर्थिक बर्षका लागि ल्याएको बजेट आर्थिक बर्ष सकिन एक महिना बाँकी रहदासम्म पनि ३५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।



