माधव नेपाल समूहको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा भोलि





काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने समेत नेपालले बताए ।



नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने निणर्य गरेको छ । शुक्रबार केही मात्रामा कार्यक्रम प्रस्ताव भएको छ, शनिबारको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानलाई अन्तिम रुप दिने बैठकपछि नेता योगेश भट्टराईले भनेका छन् ।


भट्टराईका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि छलफल समेत भएको छ । यसलाई शनिबारको बैठकले अन्तिम रुप दिने र देशभर लैजाने नेता भट्टराईले बताए ।



