अत्तरिया- सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा २ सय ९८ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५ सय १४ जना घाइते भएका छन् ।




सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले सोमबार अत्तरियामा पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि २९ गतेसम्मको कार्यविवरण सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो ।





प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनामा परी १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेमध्ये ७९ जनाको अवस्था गम्भीर र ४ सय ३९ जनाको अवस्था सामान्य रहेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३ सय ९२ वटा सवारीसाधनलाई कारबाही गरी २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४ सय ३२ जना चालकलाई कारबाही गरी २ लाख ४१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।
दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि यस अवधिमा ८ सय ४० पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । चालक, सहचालक, यातायात व्यवसायी, पैदलयात्री, विद्यार्थी लगायतलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रममा १७ हजार ६ सय १९ जना लाभान्वित भएका छन् ।
त्यस्तै, दुर्घटना बढी हुने स्थानमा जडान गरिएका सचेतनामूलक बोर्डमध्ये ४५ स्थानमा मर्मत तथा सुधार गरिएको छ । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउन जेब्राक्रस निर्माण तथा सुधार कार्ययोजना लागू गरिएको छ ।


अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा लेन अनुशासन कायम गर्न सुदूरपश्चिम यातायात प्रालिसँगको समन्वयमा तीनवटा सचेतनामूलक बोर्ड जडान गरिएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने दुईवटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
तीनपाङ्ग्रे सवारीसाधनको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न अटो व्यवसायीसँग छलफल गरी पार्किङस्थल निर्धारण गर्ने तथा स्थानीय तहसँग समन्वय गर्ने निर्णयसमेत गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय र डोटी दिपायल संघको समन्वयमा ३५ थान ट्राफिक कोन र २० थान कनेक्टर प्राप्त भएको कार्यालयले जनाएको छ । सार्वजनिक यातायातका सवारीसाधनमा दुईपटक गरिएको लागुऔषध सेवन (लापसे) परीक्षणमा तीन जना चालकको रिपोर्ट पोजेटिभ आएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ ।
यसैगरी, स्वामित्व नखुलेका १० वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालयमा बुझाइएको छ । गैरकानुनी रूपमा सञ्चालन गरिएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने अभियानअन्तर्गत थप तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
कार्यालयले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि पनि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ । महिनाभरि जन्मदिन पर्ने प्रहरी कर्मचारीको सामूहिक जन्मोत्सव मनाउने, बिदाको दिन ड्युटीमा नरहेका कर्मचारीलाई पालो मिलाएर हाइकिङमा लैजाने तथा महिनामा चारपटक चलचित्र प्रदर्शन गर्ने कार्यक्रम सुरु गरिएको छ ।
नवप्रवर्तनात्मक कार्यक्रमअन्तर्गत नवजीवन कलेज धनगढीको सहकार्यमा भाइटीकाको दिन यात्रुहरूको सहजताका लागि धनगढीदेखि गोदावरीसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र सडक सुरक्षासम्बन्धी सचेतनामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।




