उमेरका आधारमा कैद छुट पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी जेलमुक्त

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

काठमाडौँ जिल्ला अदालतको आदेश तथा संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई रिहा गरिएको हो। तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएको र सोहीअनुसार बिहीबार बिहान उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए।

Navadurga sun

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो।

बिहीबार बिहान ७ बजे कारागारबाट बाहिरिएका रायमाझीलाई लिन आफन्त तथा परिवारका सदस्य पुगेका थिए। उनलाई घरमा टीकामाला लगाएर स्वागत गरिएको छ। केही दिन आराम गरेपछि आफ्नो स्थायी घर अर्घाखाँची जाने तयारी रहेको उनीसँगै पुगेका लिला केसीले बताएका छन्।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी सांसद रहेकै बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर गर्दै विभिन्न कैद तथा जरिवानाको सजाय सुनाएको थियो।

अदालतको फैसलाअनुसार उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चित भ्रष्टाचार र ठगीसम्बन्धी मुद्दामध्ये एक हो। यस प्रकरणमा उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसमेत मुछिएका थिए।

रायमाझीको रिहाइसँगै उनको आगामी राजनीतिक तथा सार्वजनिक जीवनको भूमिकाबारे पनि चासो बढेको छ।

ADD Khali jpg
Loading...