बाजुरा- बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो।



उनी बुधबार घरबाट बाहिरिएपछि साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा केसीलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए।त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
