काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ।


महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। बन्दसत्र सोमबार र मंगलबार हुनेछ भने निर्वाचन कार्यक्रम २१ र २२ असोजमा तय गरिएको छ।

बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, रोजगार तथा विदेश नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।
महाधिवेशनका लागि विभिन्न क्षेत्रमा प्रतिनिधिको आवास, खुलामञ्चमा स्वास्थ्य सेवा तथा काठमाडौंका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल तथा विदेशी पाहुनालाई समेत निमन्त्रणा गरिएको छ।
