कांग्रेसको १५औँ महाधिवेशनमा लोक राज पाण्डेय ‘आगो’को उम्मेदवारी
‘भुइँ तहको आवाज, केन्द्रीय महाधिवेशनमा’ नारासहित क्रम संख्या १७ मा उम्मेदवारी
अत्तरिया- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा नेता लोक राज पाण्डेय ‘आगो’ले उम्मेदवारी घोषणा गरेका छन्।
पाण्डेयले प्रचार सामग्री सार्वजनिक गर्दै आफूलाई क्रम संख्या १७ मा राखेका छन्। उनले क्षेत्रीय प्रतिनिधि मतदातासँग आफूलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन समर्थनको अपिल गरेका छन्।

‘भुइँ तहको आवाज, केन्द्रीय महाधिवेशनमा’ भन्ने नारासहित उम्मेदवारी दिएका पाण्डेयले पार्टी संगठन सुदृढीकरण, जनमुखी राजनीति र युवा पुस्ताको सहभागितालाई आफ्नो प्राथमिकतामा राखेका छन्।


सुदूरपश्चिमका विभिन्न सामाजिक तथा सार्वजनिक मुद्दामा सक्रिय रहँदै आएका पाण्डेय अखण्ड सुदूरपश्चिम आन्दोलनलगायतका सामाजिक अभियानमा समेत सहभागी भएका छन्। उनले यस क्षेत्रका जनसरोकारका विषयलाई निरन्तर सार्वजनिक बहसमा उठाउँदै आएको बताएका छन्।
गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै भएको अभियानमा पनि पाण्डेयले संघर्ष समितिको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए। सुदूरपश्चिमका ग्रामीण क्षेत्र र आम नागरिकसँग प्रत्यक्ष जोडिएका समस्यालाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने उनको धारणा छ।
कांग्रेसको संगठनलाई थप जनमुखी र प्रभावकारी बनाउन अग्रजको अनुभव र युवा पुस्ताको ऊर्जाबीच समन्वय आवश्यक रहेको पाण्डेयले बताउँदै आएका छन्। उनले पार्टी रूपान्तरणसँगै युवालाई नेतृत्वमा जिम्मेवारी दिनुपर्ने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसका विभिन्न तहका उम्मेदवारहरूले आफ्ना एजेन्डा र प्रतिबद्धतासहित क्षेत्रीय प्रतिनिधिसँग समर्थन मागिरहेका छन्। सोही क्रममा पाण्डेयले पनि आफ्नो सामाजिक सक्रियता तथा जनसरोकारका मुद्दालाई आधार बनाएर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
