बैतडी- बैतडीको पाटन नगरपालिका–७ का ९० वर्षीय जयबल्लभ भट्टको संस्मरणात्मक काव्यकृति ‘पुर्खाका पाइला’ लोकार्पण गरिएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कृतिको लोकार्पण गरेका हुन्। कृति लोकार्पण गर्दै खनालले पुस्तकमा पूर्वीय संस्कृति, संस्कार तथा स्थानीय सभ्यताका महत्वपूर्ण पक्ष समेटिएको बताए।

उनले बैतडीको किम्तोली क्षेत्रको सभ्यतालाई कवितामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै कृति प्रेरणादायी रहेको बताए।
पाँच दशक लामो शिक्षण अनुभव बोकेका भट्टले कृतिमा स्थानीय भट्ट जातिसँग सम्बन्धित इतिहास, पुर्खाबाट सुनिँदै आएका घटनाक्रम तथा स्थानीय जनश्रुतिलाई काव्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।


पुस्तकबारे पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गाउँको इतिहास मानिसका सम्झनामा सुरक्षित रहने भएकाले त्यसलाई पुस्तकका रूपमा अभिलेखीकरण गर्नु महत्वपूर्ण भएको बताएका छन्।
चन्दले भनेका छन्, “कतिपय इतिहास राजदरबारका दस्तावेजमा लेखिन्छन्, कतिपय युद्धका मैदानमा लेखिन्छन् तर गाउँको इतिहास भने मानिसको सम्झनामा लेखिएको हुन्छ। जुन भट्टले खोज्दै, सुन्दै, सम्झिँदै पुस्तकमा उतारेका छन्।”
कृतिको समीक्षा गर्दै सर्जक तथा उप–प्राध्यापक भुवन निस्तेजले पुस्तकमा उल्लेखित ऐतिहासिक विषयहरू सुदूरपश्चिम र कुमाउ क्षेत्रको इतिहाससँग मेल खाने बताए।
“पुर्खाले सुनाएका कुराहरू पुस्तकमा लिपिबद्ध गरिनु सकारात्मक कदम हो,” निस्तेजले भने।
उनका अनुसार कृतिमा तत्कालीन मुगल शासकहरूको आक्रमणविरुद्ध मध्यकालीन डोटीका राजा हरि शाही र कल्याण चन्द मिलेर गरेको प्रतिकार तथा युद्धका प्रसङ्गसमेत समेटिएका छन्।
स्थानीय इतिहास, संस्कृति, परम्परा र पुर्खाका अनुभवलाई काव्यात्मक रूपमा अभिलेख गर्ने प्रयास गरिएको ‘पुर्खाका पाइला’ नयाँ पुस्ताका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ।
