सोह्रश्राद्ध अर्थात् पितृपक्ष सुरु, पितृको सम्झना र श्रद्धाका साथ तर्पण–पिण्डदान गर्ने परम्परा

हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान, सिदादान तथा श्राद्ध गर्ने धार्मिक परम्परा छ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने भएकाले नेपाली समाजमा यसलाई ‘सोह्रश्राद्ध’ भनिन्छ। हिन्दू परम्परामा चाडपर्व, यज्ञयज्ञादि तथा ठूला धार्मिक कार्य गर्नुअघि आफ्ना दिवङ्गत पितृलाई श्रद्धापूर्वक सम्झने प्रचलन रहिआएको छ।

Navadurga sun

बडादशैं र तिहारजस्ता प्रमुख चाडपर्वभन्दा अघि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व सम्झाउने तथा पितृऋणबाट मुक्त भई चित्तशुद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

सोह्रश्राद्ध सुरु भएसँगै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा पनि दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्न श्रद्धालुहरू पुग्ने गर्छन्।

यस्तो छ शास्त्रीय विधान

प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमालगायतका तिथिमा पितृहरूको तर्पण तथा श्राद्ध गर्ने परम्परा छ। यसबाट पितृहरूको आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास गरिन्छ।

आफ्ना परिजनको मृत्यु भएको तिथि थाहा नभएकाहरूले पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा औंसीका दिन श्राद्ध गर्ने चलनसमेत रहेको बताइन्छ।

कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा उहाँको मृत्यु भएको समयमा रहेको तिथिका आधारमा निर्धारण गरिन्छ। सोही तिथिमा तर्पण, पिण्डदान, भोजन तथा दान गर्ने परम्परा छ।

तर्पण भनेको पितृहरूको नाममा पवित्र जल अर्पण गर्ने कर्म हो। यसमा कुश, जौ, तिल, फूल, चन्दनलगायत सामग्री प्रयोग गरिन्छ। पिण्डदानमा परम्पराअनुसार दूध, चामल तथा खिरलगायत सामग्रीबाट पिण्ड तयार गरी गुरु–पुरोहितको निर्देशनअनुसार पितृलाई अर्पण गरिन्छ।

धार्मिक ग्रन्थहरूमा पनि पितृपक्ष तथा श्राद्ध कर्मको महत्त्व उल्लेख गरिएको पाइन्छ। विशेषगरी गरुड पुराण, विष्णु पुराण र महाभारतमा पितृ तथा श्राद्धसम्बन्धी प्रसङ्गहरू पाइन्छन्।

शास्त्रीय मान्यताअनुसार एकोद्दिष्ट श्राद्ध मध्याह्नमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने विधान रहेको बताइन्छ।

सम्भव भएसम्म गृहस्थीले आफ्नै घरमा श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ। सहरी क्षेत्रमा डेरामा बस्नेहरूका लागि भने नजिकको तीर्थस्थल, नदी, मन्दिर वा तुलसीको मठमा आवश्यक विधि पूरा गर्न सकिने परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार सोह्रश्राद्धको अवधिमा पितृहरू पितृलोकबाट पृथ्वीतलमा आउने र आफ्ना सन्तानबाट तर्पण, पिण्डदान तथा श्राद्धको अपेक्षा गर्ने मान्यता छ। श्रद्धापूर्वक श्राद्ध, तर्पण, भोजन तथा दान गरेमा पितृ प्रसन्न भई परिवारमा सुख, शान्ति, समृद्धि तथा वंशवृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...