भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री बालेनको आग्रह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन्।

Navadurga sun

मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्।

पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।

मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत कोशी प्रदेशका हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्र बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिममा रहन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रधानमन्त्री बालेनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक बसोबास गर्ने तथा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत उनले नागरिकलाई आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...