न्यून चापीय प्रणाली शक्तिशाली बन्दै, भारी वर्षाको सम्भावना बढ्यो

काठमाडौं- देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

Navadurga sun

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...