बाजुरा- बाजुराका हिमाली क्षेत्रमा यस वर्ष स्याउ उत्पादन बढेको छ। किसानका बारीमा स्याउका बोट फलले झुकेका छन्। उत्पादन राम्रो भएपछि किसान उत्साहित भए पनि बारीमा फलेको स्याउ बजारसम्म पुर्याउने समस्या भने मुख्य चुनौती बनेको छ।
बाजुरामा यस वर्ष स्याउ उत्पादन बढे पनि किसानका लागि बजार र ढुवानी मुख्य चुनौती बनेको छ। सडकको खराब अवस्थाका कारण समयमै स्याउ बजारसम्म पुर्याउन नसक्दा उचित मूल्य नपाउने जोखिम रहेको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लाबाट ७०० मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर जाने अनुमान गरिएको छ।

बुढीनन्दा नगरपालिका–१० का नैन बोहराले तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका छन्। परिवारले परम्परागत रूपमा गर्दै आएको स्याउ खेतीलाई उनले पछिल्ला वर्षमा व्यावसायिक रूपमा विस्तार गरेका हुन्। बोहराका चारै भाइ अहिले स्याउ खेतीमा सक्रिय छन्। आफ्नै जमिनसँगै भाडामा जग्गा लिएर खेती विस्तार गरेका उनले बारीको रेखदेखका लागि तीन जनालाई रोजगारीसमेत दिएका छन्।
‘हामी चारै भाइ अहिले यही उत्पादनमा लागेका छौँ। पहिलेभन्दा अहिले यसबाट ठूलो सम्भावना देखेका छौँ,’ बोहराले भने।
उनले स्वदेशी तथा विदेशी गरी चार प्रकारका स्याउ लगाएका छन्। उत्पादन बढ्दै गएपछि केही वर्षमै खेतीबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ।
बुढीनन्दा–१० मा मात्रै ४० भन्दा बढी परिवार स्याउ खेतीमा संलग्न रहेको बोहराको बारीमा काम गर्दै आएका रणबहादुर रोकायाले बताए। उनका अनुसार यस वर्ष अधिकांश किसानका बारीमा स्याउ राम्रो फलेको छ।
बुढीनन्दाकै पाण्डुसैनका शेरबहादुर रावतले ८ हजार स्याउका बिरुवा रोपेका छन्। तीमध्ये दुई हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन्। केही बोटमा एक क्विन्टलभन्दा बढी स्याउ फलेको र उत्पादन धेरै हुँदा कतिपय रूखका हाँगा नै भाँचिएको उनले बताए।
बजारमा प्रतिकिलो ३०० रुपैयाँसम्म पर्ने स्याउ आफूले बारीबाट भने प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरिरहेको रावतले बताए।


बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसान पनि अहिले स्याउ टिप्ने र बिक्रीको तयारीमा छन्। यहाँ साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि मुख्य उत्पादन भदौको दोस्रो सातापछि बजारका लागि तयार हुने किसान बताउँछन्।
स्वामिकार्तिक खापर गाउँपालिका–१ रुडिका जनक बुढाका अनुसार गत वर्ष बारीबाटै प्रतिकिलो ३० रुपैयाँमा बिक्री भएको स्याउ यस वर्ष कम्तीमा ५० रुपैयाँमा बिक्री हुने अपेक्षा गरिएको छ।
बाजुरामा गोल्डेन, डेलिसिएस, गाला र फुजीसँगै स्थानीय जातका स्याउ उत्पादन हुँदै आएका छन्। स्याउबाट आम्दानी हुन थालेपछि किसानले परम्परागत अन्नबाली लगाउँदै आएका जमिनसमेत विस्तारै स्याउ खेतीमा प्रयोग गर्न थालेका छन्।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा अहिले करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो। त्यसमध्ये करिब ६०० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए।
यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ। विष्टका अनुसार करिब ७०० मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर जाने सम्भावना छ।
तर उत्पादन बढे पनि बजार र ढुवानी किसानका लागि ठूलो समस्या बनेको छ। बुढीनन्दाको पाण्डुसैनबाट उत्पादित स्याउ मार्तडी हुँदै धनगढीलगायतका बजारमा पठाउनुपर्ने हुन्छ। कोल्टी–मार्तडी सडकको खराब अवस्थाका कारण स्याउ ढुवानीमा समस्या भइरहेको किसानको गुनासो छ।
‘मेहनत गरेर स्याउ उत्पादन गरेका छौँ। तर बजारसम्म कसरी पुर्याउने भन्ने समस्या छ,’ स्याउ उत्पादक कुम्भ बोहराले भने।
समयमा बजार पुर्याउन नसक्दा विगतमा स्याउ बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपरेको किसानको अनुभव छ। सडकको अवस्था सुधार नभए उत्पादन बढे पनि उचित मूल्य पाउन कठिन हुने उनीहरूको भनाइ छ।
बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले किसानको स्याउ बजारसम्म पुर्याउन नगरपालिकाले आवश्यक समन्वय गर्ने बताए। उनका अनुसार नजिकका बजारसम्म स्याउ पुर्याउने विकल्पबारे छलफल भइरहेको छ भने कृषि एम्बुलेन्समार्फत ढुवानीमा सहयोग गर्ने तयारीसमेत भइरहेको छ।
बाजुरामा स्याउ खेती विस्तार हुँदै जानु किसानका लागि आम्दानीको नयाँ आधार बनेको छ। तर उत्पादनसँगै बजार, सडक र ढुवानीको व्यवस्था सुधार गर्न सके मात्रै किसानले स्याउबाट उचित लाभ लिन सक्ने देखिन्छ।
