विद्युतको भ्याट हटाउने तयारी, ऊर्जामन्त्री र अर्थमन्त्रीबीच सहमति

काठमाडौँ- सरकारले विद्युत् खपत बढाउने उद्देश्यले बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। भ्याट हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग विद्युत्मा लगाइएको भ्याट हटाउन प्रस्ताव गरेका थिए। ऊर्जा खपत रणनीति २०८३ लागू भइसकेको अवस्थामा विद्युत्को मूल्य घटाएर खपत बढाउनुपर्ने भन्दै भ्याट हटाउन प्रस्ताव गरिएको हो।

Navadurga sun

मन्त्रालयका ती अधिकारीका अनुसार अर्थमन्त्री वाग्ले प्रस्तावप्रति सकारात्मक भएका छन्। अब विद्युत्मा लगाइएको भ्याट हटाउने प्रस्ताव अर्थमन्त्री वाग्लेले मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ।

“हामीले ऊर्जा खपत रणनीति २०८३ लागू गरेका छौँ। खपत बढाउनका लागि मूल्य धेरै हुनु भएन। त्यसैअनुसार ऊर्जामन्त्रीज्यूले अर्थमन्त्रीज्यूसँग भ्याट हटाउन प्रस्ताव गर्नुभएको हो। प्रस्तावमा अर्थमन्त्रीज्यू सकारात्मक हुनुभएको छ,” मन्त्रालयका अधिकारीले भने।

उनका अनुसार विद्युत्मा लगाइएको भ्याटका कारण उपभोक्तामाथि थप वित्तीय भार परेको भन्दै सकेसम्म छिटो हटाउने तयारी गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि हट्ने

विद्युत्मा लगाइएको भ्याट हटाउन मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्नेछ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै हालको भ्याट व्यवस्था हट्नेछ।

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् खपतमा भ्याट लगाउन थालेको हो। हाल घरायसी ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको छ।

विद्युत्मा भ्याट लगाउने निर्णयको चौतर्फी आलोचना हुँदै आएको थियो। विद्युत्को खपत बढाउने सरकारी नीतिसँग भ्याट लगाउने व्यवस्था मेल नखाने भन्दै उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रबाट यसको पुनरावलोकनको माग हुँदै आएको थियो।

ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार विद्युत्मा भ्याट हटाउने विषयमा प्रधानमन्त्री पनि सकारात्मक देखिएका छन्। अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि विद्युत्मा हाल लागू रहेको भ्याट व्यवस्था हट्ने बाटो खुल्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...