विश्वकर्मा पूजा आज, कलकारखाना र औजारको पूजा गरिँदै

आज विश्वकर्मा पूजा तथा विश्वकर्मा जयन्ती मनाइँदैछ। प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन भगवान विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ।

विश्वकर्मा पूजाका अवसरमा देशभरका विभिन्न उद्योग, कलकारखाना, वर्कसप तथा निर्माणस्थलमा भगवान विश्वकर्माको तस्वीर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ। कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिक तथा व्यवसायीले पर्व मनाउने गरेका छन्।

Navadurga sun

यस दिन कालिगढ तथा प्राविधिकले प्रयोग गर्ने औजार, मेसिन तथा उपकरणको पूजा गर्ने धार्मिक परम्परा छ। विश्वकर्मा पूजाका दिन औजारको पूजा गरेमा ती सामग्री लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने तथा काममा सफलता प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विश्वकर्माका मूर्ति स्थापना गरी साजसज्जा गरिएको छ। पूजा सम्पन्न भएपछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएका मूर्ति विभिन्न नदी तथा शुद्ध स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि रहेको छ।

को हुन् भगवान विश्वकर्मा ?

हिन्दू धार्मिक मान्यताअनुसार भगवान विश्वकर्मालाई शिल्प, वास्तुकला तथा निर्माणका देवताका रूपमा पूजा गरिन्छ। पौराणिक कथनअनुसार ब्रह्माले सृष्टि निर्माणको जिम्मेवारी पूरा गर्न देव शिल्पी विश्वकर्मालाई आदेश दिएका थिए।

विश्वकर्मालाई संसारकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा समेत मान्ने गरिन्छ। पौराणिक कथाअनुसार उनले पाताललोक, मध्यलोक र स्वर्गलोकसहित विभिन्न दिव्य संरचनाको निर्माण गरेका थिए।

विश्वकर्माको महत्त्व वैदिक साहित्यमा समेत उल्लेख गरिएको पाइन्छ। ऋग्वेदमा विश्वकर्माको महत्त्वबारे विभिन्न ऋचा उल्लेख गरिएको धार्मिक मान्यता छ।

पौराणिक मान्यताअनुसार सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका र द्वापरयुगको द्वारिकालगायत विभिन्न भव्य संरचनाको निर्माणसँग विश्वकर्मालाई जोडेर हेर्ने गरिन्छ।

विश्वकर्मा पूजा धार्मिक पर्वसँगै श्रम, सीप, प्रविधि, औजार र निर्माणकर्मप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा समेत मनाइँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...