बैतडी- करोडौँ रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल लामो समयदेखि नियमित उडानविहीन हुँदा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ।
विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावनमार्गमा टिकटक, भिडियो तथा तस्बिर बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाई सेवामार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा उडान नहुँदा राज्यको करोडौँ रुपैयाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण २०७३ सालतिर सुरु गरिएको थियो। करिब ११ करोड रुपैयाँको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइको धावनमार्ग, विमानस्थल टावर तथा कार्यालयलगायतका संरचना निर्माण गरिएको थियो। सम्झौताअनुसार करिब चार वर्षमा पुनर्निर्माणको काम सम्पन्न भएको थियो।
पुनर्निर्माणपछि विमानस्थल २०७७ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि निजी क्षेत्रको समिट एयरले धनगढीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान सञ्चालन गरेको थियो। करिब दुई वर्ष उडान भए पनि पछिल्लो करिब पाँच वर्षदेखि नियमित उडान हुन सकेको छैन।
नियमित उडान नहुँदा विमानस्थल प्रयोगविहीनजस्तै बनेको छ। हवाई सेवा सञ्चालन नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै विमानस्थलमा गरिएको ठूलो सरकारी लगानीको प्रतिफलसमेत प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ।
स्थानीयवासीले पाटन विमानस्थलमा नियमित उडान सञ्चालनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूले विमानस्थललाई सामाजिक सञ्जालमा भिडियो बनाउने स्थलका रूपमा मात्र नभई सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात, पर्यटन र आर्थिक विकासको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।
