अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलाली क्षेत्र नं. ४ (ख) का सचिव विराज विष्टले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
बिहीबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति, व्यक्तिगत व्यावसायिक प्राथमिकता तथा सामाजिक सेवामा अझ प्रभावकारी रूपमा सक्रिय हुने उद्देश्यले पार्टी छाड्ने निर्णय गरेको बताए । उनले लामो समयसम्म पार्टीमा रही राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता र जनहितका लागि काम गर्ने अवसर पाएको भन्दै पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा आमजनताप्रति आभार व्यक्त गरेका छन्।

विष्टले पार्टीबाट अलगिए पनि देश, समाज र जनताको सेवाप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहने उल्लेख गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय समस्याको दीर्घकालीन समाधानका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । साथै, पद वा राजनीतिक आवरणभन्दा माथि उठेर सत्य, निष्पक्षता, सुशासन र समाज रूपान्तरणको अभियानमा निरन्तर लागिरहने तथा जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गरेका छन्।

