अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नं. ६ ले कृषि उत्पादन बढाउने उद्देश्यले १८ जना कृषकलाई विभिन्न आधुनिक कृषि उपकरण वितरण गरेको छ। ९ जनालाई मिनिटेलर, ५ जनालाई कम्बाइन राइस मिल, ३ जनालाई पानी तान्ने मोटर र १ जनालाई दाना बनाउने मेसिन प्रदान गरिएको वडा अध्यक्ष प्रेम साउदले जानकारी दिए।




वडाका अनुसार कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्दै उत्पादन लागत घटाउने, श्रम अभाव कम गर्ने र उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ उपकरण वितरण गरिएको हो।


स्थानीय कृषकहरूले यस सहयोगले खेतीपातीलाई अझ सहज, छिटो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा पनि कृषि क्षेत्रको व्यवसायीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ।




