अत्तरिया- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि १० जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।



शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका ३ जना र रजिस्ट्रार पदका लागि आवेदन दिएका ७ जनाको नाम सार्वजनिक गरेको हो।



समितिका अनुसार उपकुलपति पदका लागि तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, काठमाडौंका प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रुपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा परेका छन्। यसअघि विश्वविद्यालयका उपकुलपति रहिसकेका डाक्टर जोशी सरकारद्वारा अध्यादेशमार्फत नयाँ व्यवस्था लागू भएपछि पदमुक्त भएका थिए।
त्यस्तै रजिस्ट्रार पदका लागि कैलालीका प्राध्यापक डाक्टर पदमराज जोशी, तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डाक्टर डमरुप्रसाद पनेरु सर्टलिस्टमा समावेश भएका छन्।
सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १५ गते सञ्चालन गर्ने जनाएको छ। सोही प्रक्रियापछि उपकुलपति र रजिस्ट्रार पदका लागि अन्तिम सिफारिस गरिनेछ।
विश्वविद्यालय सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।




