प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ। सैपाल युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन आइतबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया ले गरेकी हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले महिला खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन्। महिलाका लागि खेलकुद प्रतियोगिता न्यून आयोजना हुने भएकाले उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने पर्याप्त अवसर नपाइरहेको उल्लेख गर्दै महिला खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। खेलमार्फत व्यक्तिगत तथा राष्ट्रिय पहिचान स्थापित गर्न सकिने र आर्थिक आम्दानीसमेत गर्न सकिने भएकाले खेलकुदमा सक्रिय रहन उनले खेलाडीहरूलाई आग्रह गरिन्।

Navadurga sun

सैपाल युवा क्लबले महिला खेलाडीका लागि प्रतियोगिता आयोजना गरेर उदाहरणीय कार्य गरेको उनले बताइन्। क्लबका अध्यक्ष रमेश बोगटी ले आर्थिक स्रोतको अभावका कारण खेलकुद प्रतियोगिता सञ्चालन गर्न क्लबहरूलाई चुनौती हुने गरेको बताए। उनले स्थानीय सरकारले खेल क्षेत्रलाई थप प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

सैपाल युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा कैलालीका १२ वटा टोली सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले रु. १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछ। उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

“महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित सञ्चालन भएको प्रतियोगिता जेठ ३० गतेसम्म जारी रहनेछ। प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको छ भने विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पनि सहयोग गरेका छन्। प्रतियोगिताको पहिलो खेल भजनी र बागमारा क्लबबीच सम्पन्न भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...