अत्तरिया- सुदूरपश्चिम प्रदेशमा दशैँका बेला सवारी दुर्घटना बढेको पाइएको छ। गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका दुर्घटनाको तुलनामा यस वर्ष दशैँकै अवधिमा बढी दुर्घटना भएका हुन्।




घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर १५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार यस वर्ष दशैँमै दुर्घटनाको संख्या गत वर्षको दशैँदेखि छठसम्मको अवधिभन्दा बढी देखिएको हो।





प्रहरीका अनुसार सबैभन्दा बढी कैलालीमा ८८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन्। त्यस्तै, कञ्चनपुरमा ३५ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लामा भएका दुर्घटनामा मानवीय मृत्यु भएको छैन।


अन्य जिल्लामध्ये डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा दुई/दुई तथा बझाङ र बैतडीमा एक/एक वटा सवारी दुर्घटना भएका छन्। यी जिल्लामा भएका दुर्घटनामा ४७ जना घाइते भएका छन्।
गत वर्ष दशैँदेखि छठ पर्वसम्म सुदूरपश्चिम प्रदेशभर १२२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने २५३ जना घाइते भएका थिए। तर, यस वर्ष दशैँकै अवधिमा १५२ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु र २४३ जना घाइते भएका छन्।
तथ्यांकअनुसार गत वर्षको दशैँदेखि छठसम्मको तुलनामा यस वर्ष दशैँमै ३० वटा बढी दुर्घटना भएका छन्। यद्यपि, मृत्यु हुनेको संख्या १७ ले घटेको छ भने घाइते हुनेको संख्या १० ले कम भएको छ।
दुर्घटनाको संख्या बढ्दै जानुले चाडपर्वका बेला सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्नु चुनौतीपूर्ण बन्दै गएको देखाएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या घट्नु सकारात्मक भए पनि बढ्दो दुर्घटना रोक्न ट्राफिक नियमको पालना, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा यात्रु र चालक दुवैले सावधानी अपनाउने विषयमा थप प्रभावकारी कदम आवश्यक देखिएको छ।




