नेपालमा कीटजन्य रोगको प्रकोप बढ्दो, डेंगु र स्क्रब टाइफसबाट हजारौँ प्रभावित

काठमाडौं- नेपालमा डेंगु, स्क्रब टाइफस र जापानिज इन्सेफलाइटिसलगायत कीटजन्य रोगको सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती थपेको छ । जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, सरसफाइको कमी र जनचेतनाको अभावका कारण यस्ता रोगको जोखिम बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशभर ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगुबाट तीन जनाको मृत्यु भएको छ भने जापानिज इन्सेफलाइटिसका कारण २८ जनाले ज्यान गुमाएका छन् ।

Navadurga sun

स्क्रब टाइफसको सङ्क्रमण देशका ७४ जिल्लामा फैलिएको छ । प्रदेशगत विवरणअनुसार लुम्बिनीमा तीन हजार ६६, सुदूरपश्चिममा दुई हजार ११३ र गण्डकीमा दुई हजार ४१ जना सङ्क्रमित भएका छन् । जिल्लागत रूपमा दाङमा ६५८, स्याङ्जामा ५६५ र संखुवासभामा ५०५ जना सङ्क्रमित भेटिएका छन् ।

यस्तै, डेंगुबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । गण्डकीमा दुई हजार ६९७, कोशीमा ९८५ र बागमतीमा ८८६ जना सङ्क्रमित भएका छन् । जिल्लागत विवरणमा बागलुङमा एक हजार ५२२, कास्कीमा ४४१ र काठमाडौंमा ३१३ जना सङ्क्रमित भेटिएका छन् ।

परिवार कल्याण महाशाखाको प्रतिवेदनअनुसार सन् २०२६ अक्टोबर १ सम्म जापानिज इन्सेफलाइटिसका १३१ जना बिरामी पुष्टि भएका छन् । उनीहरू देशका सातै प्रदेशका ३७ जिल्लाका ९० स्थानीय तहमा भेटिएका हुन् । सङ्क्रमितमध्ये ८७ प्रतिशतले यस रोगविरुद्धको खोप नलगाएको पाइएको छ भने मृत्यु भएका सबै व्यक्ति खोपबाट वञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ ।

ईडीसीडीका जुनोटिक तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. अमृत पोखरेलले जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले कीटजन्य रोगको प्रकोप बढाएको बताए । उनले रोग लागेपछि हेलचेक्य्राइँ नगर्न र जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य सेवा प्रशासक गोकर्ण दाहालले रोग नियन्त्रणका लागि संघीय सरकारको मात्रै भर पर्न नहुने बताए । प्रदेश र स्थानीय सरकारले पनि पर्याप्त बजेट छुट्याएर रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घरवरपर पानी जम्न नदिन, झाडी तथा घाँस सफा गर्न र जोखिमयुक्त क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन आग्रह गरेका छन् । अचानक उच्च ज्वरो आउने, शरीर दुख्ने वा असामान्य लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन पनि उनीहरूले सुझाव दिएका छन् ।

विशेषगरी जापानिज इन्सेफलाइटिसविरुद्ध बालबालिकालाई नियमित खोप लगाउनु र छुटेको खोप समयमै पूरा गर्नु आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पर्याप्त बजेट, प्रभावकारी योजना र नागरिकको सक्रिय सहभागिताबाट मात्रै कीटजन्य रोगको जोखिम न्यूनीकरण गर्न सकिने देखिन्छ ।

ADD Khali jpg
Loading...