भूमिहीन र अव्यवस्थित बसोबासी व्यवस्थापनका लागि कृष्णपुर ५ र ६ मा जग्गा नापिँदै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ। यसै सिलसिलामा नगरपालिकाको वडा नम्बर ५ र ६ को कार्यालयले आ-आफ्नो क्षेत्रभित्र जग्गा नापजाँच तथा नक्सा कार्य सुरु गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेका छन्।

प्राप्त जानकारी अनुसार दुवै वडामा आगामी जेठ २५ गते देखि नापजाँचको काम सुरु हुनेछ।

Navadurga sun

वडा नं. ५ को वडा कार्यालय (गुलरिया) ले सार्वजनिक गरेको सूचना अनुसार जेठ २५ गते बिहान ८:०० बजेदेखि ‘पवित्रवस्ति (पवित्र आधारभूत विद्यालय)’ बाट नापजाँच सुरु गरिनेछ।

वडा अध्यक्ष टेक पाण्डेद्वारा हस्ताक्षरित सूचनामा जग्गाधनीहरूलाई आफ्नो आबाद कमोद गरेको जग्गाको साँध-सिमाना आफैँ उपस्थित भई घुमी देखाई नापी गराउन अनुरोध गरिएको छ।

वडा नं. ५ का लागि आवश्यक कागजात तथा सर्तहरू:

  • घरमूली श्रीमान् र श्रीमतीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

  • निवेदन दर्ताको निस्साको प्रतिलिपि (कागजातहरू रेकर्ड फाइलमा नत्थी गरी राख्नुपर्ने)।

  • नम्बरी, प्रति र ऐलानी जग्गाको साँध-सिमाना एकिन गरी किल्ला गाडेर राख्नुपर्ने।

  • साँध-सिमाना सम्बन्धी विवाद वा खिचलो भएमा नापी टोली पुग्नु अगावै समाधान गरिसक्नुपर्ने, अन्यथा उक्त स्थानको जग्गा नापी नहुने।

त्यसैगरी, वडा नम्बर ६ को कार्यालय (बसन्तपुर) ले पनि जेठ २५ गतेदेखि नै जग्गाको नाप नक्सा कार्य सुरु हुने जनाएको छ। वडा अध्यक्ष बाबुराम चौधरीद्वारा जारी सूचना अनुसार सम्बन्धित व्यक्तिहरूले नाप नक्सा हुँदाका बखत आवश्यक कागजात साथमा लिई आबाद कमोद गरेको जग्गाको साँध-सिमाना घुमी देखाई नापी गराउनुपर्नेछ।

वडा नं. ६ का लागि आवश्यक कागजातहरू:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

  • निवेदन दर्ताको निस्साको प्रतिलिपि।

  • उपलब्ध भएसम्मका अन्य सम्बन्धित प्रमाणहरू।

नगरपालिकाले यो प्रक्रिया भूमिहीन र अव्यवस्थित बसोबासीको स्थायी व्यवस्थापनका लागि महत्त्वपूर्ण चरण भएको जनाउँदै सम्पूर्ण सरोकारवालाहरूलाई तोकिएको समयमै प्रक्रिया पूरा गरी नापी कार्यमा सहयोग गर्न आह्वान गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...