लक्ष्मी भट्ट/अत्तरिया- ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाले विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथि एवं स्मृति दिवसको अवसरमा ‘बृहत् रक्तदान जीवनदान शिविर–२०८३’ आयोजना गरेको छ।
विगतका वर्षहरूझैँ यस वर्ष पनि ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाकी रविना दिदीले जानकारी दिनुभयो।

भदौ ६ गते बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रम चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। चार दिनको अवधिमा इच्छुक व्यक्तिहरूले रक्तदान गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। रक्तदान शिविरलाई अत्तरिया उद्योग वाणिज्य संघ, गोदावरी चेम्बर्स अफ कमर्स तथा सुदूर युथ क्लब गोदावरी–७ लगायत विभिन्न संघसंस्था र क्लबहरूले सहयोग गरेका छन्।
आयोजकले यस क्षेत्रका विभिन्न संघसंस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूको सहयोग र सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
रक्तदान जीवनदानसँग जोडिएको महत्वपूर्ण सामाजिक कार्य भएकाले इच्छुक सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
