सुदूरपश्चिम प्रदेशमा बजेट सुझाव समिति गठन गर्न मुख्यमन्त्री शाहको प्रस्ताव

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई प्रभावकारी र पारदर्शी बनाउन सबै राजनीतिक दलको सहभागितामा ‘बजेट सुझाव समिति’ गठन गर्नुपर्ने बताएका छन्।

धनगढीमा मंगलबार प्रदेश सभा सदस्यहरूसँग आयोजित नीति कार्यक्रम, बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने उल्लेख गर्दै सबै दलको प्रतिनिधित्व हुने समिति गठन गर्न आग्रह गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले नेपाली कांग्रेस संसदीय दलले सरकारलाई सुझाव दिन प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी पनि दिए। समितिमा गीता कुमारी चौधरी र पदम बहादुर शाही सदस्य रहेका छन्।

मुख्यमन्त्री शाहले धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थलहरूलाई बजेटमा विशेष प्राथमिकता दिने भन्दै सम्बन्धित मन्त्रालयलाई आवश्यक योजना तयार गर्न निर्देशन दिए। साथै उनले कोटेशनमार्फत योजना कार्यान्वयन नगर्न र अनियमिततामा संलग्न कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

उनका अनुसार २५ लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले बजेटमा समावेश नगर्ने र उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने नीति अपनाइने छ।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनजस्ता प्राथमिक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने तथा दीगो विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

Loading...