सुदूरपश्चिममा स्वास्थ्य बिमा सहभागिता २६ प्रतिशतमै सीमित

धनगढी- सुदूरपश्चिम प्रदेशमा कुल जनसंख्याको करिब २६ प्रतिशत (७,०३,९०५ व्यक्ति) मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। विसं २०७२ देखि सुरु गरिएको यस कार्यक्रममा अझै ठूलो संख्यामा नागरिक समेटिन बाँकी छन्। प्रदेशको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ रहेको छ।

बिमा बोर्डका अनुसार हालसम्म २ लाख २८ हजार ३९८ परिवार आबद्ध भएका छन्, जसमा १ लाख ५४ हजार ५०५ लक्षित (विपन्न तथा जोखिम समूह) र ७३ हजार ८९३ अन्य श्रेणीका परिवार छन्। तर चालु आर्थिक वर्ष २०८२/०८३ को चैतसम्म केवल ७९ हजार १९५ परिवार मात्र सक्रिय रहेको देखिन्छ, जसले नवीकरणमा कमी रहेको संकेत गर्दछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गत वर्षसम्म ६ लाख ७३ हजार ९५३ नागरिकले बिमा गराएका थिए। विभिन्न आर्थिक वर्षमा आबद्ध हुने परिवारको संख्या पनि उतारचढावपूर्ण देखिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य नागरिकलाई सुलभ, किफायती र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, विशेषगरी विपन्न र ग्रामीण क्षेत्रका नागरिकलाई आकस्मिक खर्चबाट जोगाउन। तर नवीकरणमा कमी, सेवा गुणस्तरमा प्रश्न, भौगोलिक कठिनाइ, जनचेतनाको अभाव र विश्वासको कमीका कारण कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी बन्न सकेको छैन।

हाल प्रदेशका ३४ स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध भए पनि जनशक्ति अभाव, स्रोतसाधनको कमी र स्थानीय तहसँग समन्वयको कमजोरी मुख्य चुनौतीका रूपमा देखिएका छन्।

Loading...