अत्तरिया- कैलाली निर्वाचन क्षेत्र नम्बर- ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्ट यतिबेला चुनावी अभियानमा व्यस्त रहेका छन् । घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै भट्ट मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित छन् ।



गाउँ–गाउँमा पुगेर जनताका समस्या, गुनासा र अपेक्षा सुन्दै आएका भट्टले आफू जनताको विश्वास र विकासको अभियान लिएर अघि बढेको बताएका छन् । उनले कैलाली क्षेत्र नम्बर ४ को समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


भेटघाटका क्रममा स्थानीयवासीले एमालेप्रति आफ्नो आशा र विश्वास बढ्दै गएको बताएका छन् । उनीहरूले देशको स्थिरता, विकास र समृद्धिका लागि एमाले आवश्यक रहेको धारणा राख्दै भट्टलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी अभियानका क्रममा भट्टलाई विभिन्न टोल तथा बस्तीमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले स्वागत गर्दै साथ र समर्थन जनाइरहेका छन् । एमालेप्रति बढ्दो जनसमर्थनले कैलाली क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप उत्साहित बन्दै गएको छ ।





