

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन् ।



आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे । ‘यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्यो भनेर। तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन’, उनले भने, ‘जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।


आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए। लामिछानेले आजै सदरमुकाम र पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए । रासस

