

धनगढी- नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीमा जलन उपचार शिविर सञ्चालन हुने भएको छ ।


धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएका लाभान्वित हुनेछन् ।


बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो । यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने बैंकले जनाएको छ । धनगढीको शिविरबाट १२० जना भन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ ।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रिया लगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पताल अन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।
शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएका, हातका औंला टाँसिएका, हात र खुट्टामा पाँच वटाभन्दा बढी औंला टाँसिएका, बिस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाहरुले निःशुल्क उपचार पाउनेछन् ।
साथै जटिल समस्या भएका बिरामीलाई काठमाडौंको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन् । जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ । जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन् । जसका कारण पीडितहरुमा दीर्घकालीन अपाङ्गता निम्त्याउने जोखिम रहन्छ ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रुपमा कमजोरहरुले उपचार नै नगर्ने देखिएको छ ।