अत्तरिया- कैलाली–४ का उम्मेदवार लेखराज भट्टले बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।



भट्टका योजनामा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र शिक्षक/कर्मचारीको सेवा सुधार, स्वास्थ्य क्लिनिक र आधारभूत स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा विस्तार, महिला र बालबालिकाका लागि गुणस्तरीय स्वास्थ्य सेवा, र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ६०० शय्याको अस्पताल तथा एमबीबीएस अध्ययनको विकास समावेश छन् ।


कृषि क्षेत्रमा आधुनिक प्रविधि, सिँचाइ सुविधा विस्तार, बीउ/मल/यान्त्रिकीकरण र कृषि बीमा तथा उद्योग स्थापना, औद्योगिक क्षेत्र र रोजगारी सिर्जना, दलित तथा पिछडिएका समुदायको सीपमूलक तालिम, धार्मिक/सांस्कृतिक स्थलको संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समावेश छन् ।
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, तटबन्ध, विद्युत् र खानेपानी विस्तारमा जोड दिइने उल्लेख छ । भट्टले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै क्षेत्रको समग्र विकास गर्ने दाबी गर्दै मतदातासँग पुनः निर्वाचित गराउन अपिल गरेका छन् ।





