


उनले धनगढी विमानस्थल क्षेत्रीय बनेमा आपतकालीन अवस्थासमेत अन्य देशमा सिधै उडान भर्न सकिने र यसले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए। विदेशी पर्यटक सिधै धनगढी आउन सक्ने भएकाले यसलाई अगाडि बढाउनु आजको आवश्यकता भएको उनको भनाइ छ।



त्यस्तै, उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिमा आफूले विशेष जोड दिने बताए। सेती अस्पताल अझै पूर्ण रूपमा स्तरोन्नति हुन नसकेको उल्लेख गर्दै उनले अस्पताललाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरे।
पूर्वमन्त्रीसमेत रहेका आलेले गेटा मेडिकल कलेजलाई कम्तीमा ५ सय बेडको स्वीकृति गराई एमबीबीएस अध्ययन हुने गरी अगाडि बढाउने प्रतिबद्धता पनि जनाए।
डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको अनुभव उल्लेख गर्दै उनले यस पटक पनि कैलाली क्षेत्र नं. ५ का जनताको साथ पाउने विश्वास व्यक्त गरे। आफूले विगतमा बोलेका कुरा पूरा गर्दै आएको दाबी गर्दै उनले मतदातालाई आफ्नो कार्यसम्पादन मूल्याङ्कन गरेर चुनावमा सहभागी हुन आग्रह गरे।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आलेले कैलाली क्षेत्र नं. ५ मा निर्वाचन परिचालन सचिवालय स्थापना तथा तयारी बैठक सम्पन्न गर्दै चुनावी गतिविधिलाई तीव्र बनाउँदै लगेका छन्। डोटीबाट पटक–पटक निर्वाचन जितेका आले २०७० सालको संविधानसभा, २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए।




