मकर सङ्क्रान्तिमा परशुराम धाममा महास्नान मेला, हजारौँ श्रद्धालुको भीड

डडेल्धुरा- नेपालका चार धाममध्ये एक मानिने डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँस्थित काली (महाकाली) नदी किनारको परशुराम धाममा मकर सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि भव्य स्नान मेला लागेको छ। नेपाल–भारत सीमामा अवस्थित यस धार्मिकस्थलमा मकर सङ्क्रान्तिका दिन हजारौँ श्रद्धालु स्नान गर्न पुग्ने गरेका छन्।

पुस मसान्तको रातिदेखि नै मेला भर्न र स्नान गर्न भक्तजनहरू परशुराम धाम पुग्ने गरेका छन्। रातिदेखि स्नान गरी फर्किने श्रद्धालुहरूको लाम लाग्ने गरेको स्थानीयवासीले बताएका छन्। हिन्दु धर्मावलम्बीको विश्वासअनुसार भगवान विष्णुका दश अवतारमध्ये छैटौँ अवतार परशुरामले यहीँ तपस्या गरेको मानिन्छ।

Navadurga sun

विष्णु पुराणअनुसार परशुराम तपस्याका कारण चिरञ्जीवी बनेका थिए। भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या यहीँ सिकाइएको तथा भगवान रामले पनि यहीँ समाधि लिएको जनविश्वास छ। काली नदी किनारको बामघाटलाई बनारससरह पवित्र स्थलका रूपमा लिने गरिन्छ।

मकर सङ्क्रान्ति तथा सूर्यग्रहणका अवसरमा डडेल्धुराका मात्रै १६ वटा शिवालयका देउरा (चल देवता) परशुराम धाम ल्याएर स्नान गराउने परम्परा रहिआएको छ। खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउरालाई अलग–अलग घाटमा स्नान गराइने व्यवस्था गरिएको छ भने देवघाटमा सामूहिक स्नान गराइन्छ।

परशुराम क्षेत्र विकास समितिका पूर्व अध्यक्ष पण्डित कैलाशकुमार पाण्डेयका अनुसार स्कन्दपुराणमा त्रेतायुगमा परशुरामले हैहयवंशी क्षेत्रीहरूको २१ पटक संहारपछि यस क्षेत्रमा आएर तपस्या र यज्ञ गरेको उल्लेख छ। सतीदेवीको अङ्ग पतनपछि भगवान शिवले पनि यहीँ तपस्या गरेको र धर्मराज युधिष्ठिरले यज्ञसहित धर्मद्वार निर्माण गरेको जनविश्वास रहिआएको छ।

माघे सङ्क्रान्तिका बेला डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट २२ वटा देवताका देउरा यहाँ ल्याइन्छ। घटाल बाबा, भागेश्वर, त्रिपुरा सुन्दरी, मालिकार्जुन, शैलेश्वरी, बडिमालिका, बैजनाथ, शिद्धनाथलगायतका देवताका देउरा विधिपूर्वक स्नान गराइने चलन छ।

महाकाली नदीमा स्नान गर्दा शुद्धता प्राप्त हुने धार्मिक विश्वास छ। स्कन्दपुराणको मानसखण्डमा महाकाली नदीमा बाँयाबाट मिसिने प्रत्येक खोला–नदीलाई तीर्थस्थलका रूपमा उल्लेख गरिएको छ।

करीब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार तथा सत्ययुगदेखि रहेको भनिने वर–पीपलको रुखसमेत रहेका छन्। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको परशुराम धाम पश्चिम नेपालको प्रमुख तीर्थस्थलका रूपमा विकसित हुँदै गएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...