जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
वर्षासँगै चट्याङ, बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
