डीडीसी अत्तरिया धनगढी सार्ने तयारीको विरोधमा स्थानीयद्वारा तालाबन्दी

अत्तरिया- गोदावरी नगरपालिका–१, अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्ने तयारी सुरु भएपछि स्थानीयले विरोध जनाउँदै तालाबन्दी गरेका छन्। स्थानीयले डीडीसी अत्तरिया र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गर्दै कार्यालय प्रवेश रोकका छन्।

डीडीसी अत्तरियाबाट उपकरण सार्न थालिएको जानकारी पाएपछि स्थानीयले तत्काल विरोध जनाएका हुन्। उपकरण सार्न ल्याइएका क्रेन र ट्रकसमेत फिर्ता पठाइएको छ। स्थानीय तारा देवी महराका अनुसार, डीडीसी अत्तरियामै राख्न माग गर्दै विगत एक वर्षदेखि आन्दोलन हुँदै आएको थियो। तर, कुनै सूचना नदिई सार्ने प्रक्रिया अघि बढाइएपछि उत्पादन कक्षमै तालाबन्दी गर्न बाध्य भएको उनले बताइन्।

Navadurga sun

यसैगरी, स्थानीय गीता चौधरीले उद्योगका सामग्री सार्न थालिएको थाहा पाएपछि विरोधमा उत्रिएको बताइन्। उनका अनुसार, डीडीसी विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका र वडा कार्यालयले बेवास्ता गरेको कारण पनि तालाबन्दी गर्नुपरेको हो।

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपाल दत्त भट्टले डीडीसी सार्न नदिने आफ्नो अडान यथावत् रहेको बताए। उनले डीडीसीको दोहोरो चरित्रका कारण आवश्यक जग्गा उपलब्ध गराउन नसकिएको दाबी गरे। “हामीले आवश्यक कागजात पठाएका थियौं तर कुनै प्रतिक्रिया नआएपछि सार्ने प्रक्रिया सुरु गरिएको हो,” उनले भने। साथै, डीडीसीका महाप्रबन्धकले ४० लाख रुपैयाँ र १० बिगाहा जग्गा उपलब्ध गराउन दबाब दिएको दाबीसमेत गरे।

गत वर्ष पुस महिनामा डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढाइएको थियो। त्यसको विरोधमा वडाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, जसले डीडीसीका लागि आवश्यक जग्गा नगरपालिका क्षेत्रमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

स्थानीयको विरोध र तालाबन्दीका कारण डीडीसी सार्ने प्रक्रिया हाल अस्थायी रूपमा रोकिएको छ। सम्बन्धित पक्षबीच छलफलमार्फत समस्या समाधान हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...