कञ्चनपुर- कुनै समय तराई क्षेत्रको जनजीवनसँग अभिन्न रूपमा जोडिएको साइकल पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्थापित हुँदै गएको छ। प्रविधिको विकास, मोटरचालित सवारीको सहज उपलब्धता, विलासी जीवनशैलीप्रतिको आकर्षण र समय अभावका कारण साइकलको प्रयोग उल्लेख्य रूपमा घटेको हो।



शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर भने अझै पनि नियमित साइकल प्रयोगकर्ता हुन्। उनी घरदेखि बजारसम्मको करिब तीन किलोमिटर दूरी दैनिक साइकलमै तय गर्छन्। “साइकल चलाउँदा शरीर तन्दुरुस्त रहन्छ, अहिलेसम्म कुनै गम्भीर रोग लागेन,” उनी भन्छन्। तर उनका अधिकांश समकालीन साथीहरू अहिले विद्युतीय स्कुटी, मोटरसाइकल र कारतर्फ आकर्षित भइसकेका छन्। उनको अनुभवमा साइकल अहिले सचेत थोरै व्यक्ति र न्यून आय भएका वर्गमा सीमित हुँदै गएको छ।


साइकल प्रयोग घटेसँगै यससँग सम्बन्धित व्यवसाय पनि संकटमा परेका छन्। शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत तथा बिक्री गर्दै आएका रामबहादुर धामीका अनुसार पहिले दैनिक नयाँ साइकल बिक्री हुने र मर्मतका लागि ग्राहकको भीड लाग्ने गर्थ्यो। “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल छ,” उनी भन्छन्। विद्युतीय सवारी र मोटरसाइकलको बढ्दो प्रयोगले साइकल व्यवसाय धरासायी बन्दै गएको उनको भनाइ छ।
सिमलफाँटाका धनबहादुर चौधरी समयको चाप र टाढाको कार्यस्थलका कारण साइकल छोडेर मोटरसाइकल प्रयोग गर्न थालेका छन्। “साइकल वातावरणमैत्री भए पनि समयमै गन्तव्यमा पुग्न गाह्रो भयो,” उनी भन्छन्। समय बचतलाई प्राथमिकता दिने प्रवृत्तिले पनि साइकल प्रयोग घट्दै गएको देखिन्छ।

सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकल कहिल्यै सम्पन्नताको प्रतीक थियो। तर मोटरसाइकल र कारको प्रयोग बढेसँगै साइकललाई ‘गरिबको सवारी’ भन्ने सामाजिक धारणा विकास भएको उनी बताउँछन्।
शिक्षक धर्मा भण्डारीका अनुसार विगतमा शिक्षक र विद्यार्थीका लागि साइकल प्रमुख सवारी साधन थियो। छात्रवृत्तिमा साइकल पाउँदा विद्यार्थीहरू उत्साहित हुन्थे। अहिले विद्यालय बस र अन्य ढुवानी साधन सहज भएपछि यसको प्रयोग घटेको छ।
यद्यपि प्रयोगकर्ता घटे पनि साइकलको मूल्य भने बढ्दै गएको छ। केही वर्षअघि दुई–तीन हजार रुपैयाँमा पाइने साइकल अहिले सातदेखि नौ हजार रुपैयाँसम्म पर्न थालेका छन्। आधुनिक गियरयुक्त साइकलको मूल्य २० हजारदेखि ६० हजार रुपैयाँसम्म पुगेको छ।
स्वास्थ्यकर्मी हरिनाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो। नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापको जोखिम घटाउँछ। मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दा जीवनशैलीजन्य रोग बढ्दै गएको उनी बताउँछन्।
झलारीका करन जोशीका अनुसार साइकलको गति सुस्त भएकाले नयाँ पुस्ता यसतर्फ आकर्षित हुन सकेको छैन। हाल साइकल प्रयोग मुख्यतः व्यायाम, न्यून आय भएका मजदुर र वातावरणप्रति सचेत सीमित व्यक्तिमा केन्द्रित भएको छ।
साइकल स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार भएको उल्लेख गर्दै उनी स्थानीय तहले साइकल लेनको व्यवस्था, सुरक्षित सडक र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको प्रयोग पुनः बढ्न सक्ने बताउँछन्।




