सुदूरपश्चिम महोत्सवमा आज लोकगायक बद्री पगेँनीको विशेष प्रस्तुति रहने

धनगढी- धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आज आठौँ दिन हो । आज चर्चित लोकगायक बद्री पगेँनीको विशेष प्रस्तुति रहने भएको छ। लोकसंस्कृति र जनजीवनका कथालाई गीतमार्फत उजागर गर्दै आएका पगेँनीको प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आज बद्री पगेँनीसँगै गायक रमेशराज भट्टराई, टेक बीसी, भरत बोहरा, ध्वज महरा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन, हस्तकला, कृषि तथा औद्योगिक सामग्रीका स्टलहरू राखिएका छन्।

यसले स्थानीय व्यवसाय प्रवर्द्धन गर्नुका साथै आन्तरिक पर्यटनलाई समेत टेवा पुर्‍याएको आयोजकको भनाइ छ। महोत्सव स्थलमा दैनिक रूपमा सांगीतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाल उद्यान तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्। दर्शकहरूको उल्लेख्य सहभागितासँगै महोत्सवले सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याएको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।

आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाउँदै महोत्सवमा सहभागी भई मनोरञ्जनसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

Loading...