

काठमाडौं- काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ ।



महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार हालसम्म १४ सय बढी फाराम वितरण भएको छ । फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने समय दिउँसो साढे १ बजेसम्म छ ।


उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।
उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

