आमपानीमा बढ्दो पर्यटकको आकर्षण, फोहोर व्यवस्थापन चुनौती

कैलाली- टिकटक तथा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि कैलालीको मोहन्याल गाउँपालिकामा रहेको आमपानी पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। लम्कीचुहा नगरपालिकाबाट करिब आठ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा अवस्थित आमपानी प्राकृतिक रमणीयताले भरिपूर्ण क्षेत्रका रूपमा परिचित हुँदै गएको छ।

पहिले कहिलेकाहीँ मात्र पर्यटक पुग्ने आमपानीमा अहिले दैनिकजसो पर्यटकको भिड लाग्ने गरेको स्थानीयले बताएका छन्। अटो, बस तथा मोटरसाइकलमार्फत कैलालीसहित आसपासका जिल्लाबाट वनभोज खान, झरनामा नुहाउन र प्राकृतिक दृश्य अवलोकन गर्न पर्यटक आमपानी पुग्ने गरेका छन्। विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन यहाँ बढी भीड लाग्ने गर्दछ।

godawari10 Mahila hinsa
Navadurga sun

वनभोजका लागि आमपानी पुगेकी टेङ्ग्नुवा महिला सामुदायिक वनकी सचिव राधा पाण्डेले आमपानी एकान्त जङ्गलभित्र रहेको रमणीय क्षेत्र भएकाले समूहसहित घुम्न उपयुक्त रहेको बताइन्। उनका अनुसार ७० जनाको समूह आमपानी भ्रमणमा पुगेको थियो।

Dadeldhura hospital

पर्यटकको चाप बढेसँगै आमपानी क्षेत्रमा फोहोरको समस्या पनि देखिन थालेको छ। वनभोज र घुम्न आउने पर्यटकले ल्याएका प्लास्टिकजन्य वस्तुको उचित व्यवस्थापन हुन नसक्दा वातावरणमा असर परेको पाण्डेले बताइन्। उनले सामुदायिक वनले वनभोज खान आउनेसँग सामान्य शुल्क उठाएर फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन्।

मोहन्याल गाउँपालिका–७ स्थित बर्गदा सामुदायिक वनक्षेत्रभित्र रहेको आमपानी झरनालाई पछिल्लो समय कृत्रिम संरचना निर्माण गरी थप आकर्षक बनाइएको छ। कोरोना महामारीको समयमा सामाजिक सञ्जालमा झरनाको भिडियो भाइरल भएपछि पर्यटकको आगमन बढ्न थालेको हो। लम्कीचुहा नगरपालिका–१ का दधिराम चापाईले सुरुमा बाटोको सुविधा नहुँदा समस्या भए पनि चर्चामा आएपछि पूर्वाधार विकास तीव्र भएको बताए।

आमपानी मोहन्याल गाउँपालिकाको चर्चित पर्यटकीय स्थल राजकाँडा जाने बाटोमै पर्ने भएकाले पनि यहाँ पुग्ने पर्यटकको संख्या बढेको छ। नयाँ गन्तव्य क्षेत्रका रूपमा विकास भइरहेको आमपानीमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदान सहयोग रहेको छ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले आमपानीलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकार चासोका साथ लागेको बताए। उनका अनुसार प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख डबलबहादुर बोहोराका अनुसार पदमार्ग र धेरैले नुहाउन मिल्ने झरनाको जग निर्माणका लागि ३६ लाख रुपैयाँ खर्च गरिएको छ। आमपानी पर्यटन क्षेत्रको व्यवस्थापनको जिम्मा सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ।

Loading...