सुदूरपश्चिम महोत्सव १९ औं संस्करण सुरु
अर्थमन्त्री खनालद्वारा उद्घाटन, विकास र समृद्धिमा सरकार प्रतिबद्ध





धनगढी- धनगढीमा सुदूरपश्चिम महोत्सवको १९ औं संस्करण सुरू भएको छ । महोत्सवको उद्घाटन सङ्घीय अर्थमन्त्री रामेश्वर खनालले सोमवार गरेका छन् । उद्घाटन समारोहमा अर्थमन्त्री खनालले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग सम्बन्धित आयोजना निर्माण र सञ्चालन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।


उनले भने, “हाम्रो मुख्य काम सफलतापूर्वक निर्वाचन गर्ने हो । त्यसबाहेक विकास निर्माणको काम पनि गर्नुपर्ने हुन्छ । गर्न सकिने विकास निर्माणका काम गर्न सरकार प्रतिबद्ध छ।” उनी अनुसार, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण सरकारले प्राथमिकताका रूपमा अघि बढाउने योजना बनाएको छ ।


महोत्सवको आयोजनामा कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको छ । संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार, महोत्सवको उद्देश्य प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकासका साथै स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्नु हो । महोत्सवले आर्थिक, सामाजिक चुनौती र विषम परिस्थितिबाट गुज्रिएको उद्योग व्यवसायलाई पुनर्स्थापित गर्ने काम पनि गर्ने योजना बनाएको छ ।

२०६३ सालमा २१ बुँदे मागपत्रसहित सुरु भएको महोत्सव अझै कतिपय माग पूरा नभएको अध्यक्ष ओझाले बताएका छन् । उनले भने, “सुदूरपश्चिमका समृद्धिका आधारलाई १९ वर्षदेखि सरकार समक्ष मागका रूपमा राख्दै आएका छौँ । केही माग पूरा भए, केही बाँकी छन् । उद्योग वाणिज्य संघले उठाएका महत्त्वपूर्ण मागहरू अहिलेसम्म पूरा भएका छैनन् । धनगढीमा प्रदर्शनीस्थल निर्माण हुन सकेको छैन ।”
महोत्सवका संस्थापक एवं धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले महोत्सवलाई २०६३ सालमा सालिन आन्दोलनको रूपमा सुरू गरिएको बताए । उनले भने, “सुदूरपश्चिमको समृद्धिका लागि आवश्यक मागहरू सरकार समक्ष पेस गर्ने उद्देश्यले महोत्सव सुरू गरिएको हो । यहाँको कला, संस्कृति र उत्पादनलाई एक ठाउँमा ल्याएर सुदूरपश्चिमको पर्वको रूपमा मनाउने परिकल्पना गरिएको थियो ।”
नगर प्रमुख हमालले गेटामा विश्वविद्यालय सञ्चालन, सुदूरपश्चिमका रणनीतिक सडक तथा विकास आयोजना सम्पन्न गर्न सरकार काम गर्नुपर्ने बताएका छन् । उनले चिसापानी-जङ्गलघाट-मङ्गलेस सडक निर्माण र बैंकिङ क्षेत्रमा सुधार आवश्यक रहेको पनि बताए ।
धनगढीमा आयोजित महोत्सवमा प्रमुख अतिथिहरूलाई मागपत्र बुझाउने चलन छ । प्रमुख अतिथि समक्ष जतिवटा माग राखियो त्यति नै किलोग्रामको मालासमेत लगाइने चलन भए पनि यसपटक अर्थमन्त्री खनाललाई माला लगाइएको छैन ।
महोत्सवको अनुमानित खर्च ३ करोड र कारोबार १५ करोड बराबर हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव अवलोकनका लागि सात लाख व्यक्तिले आगमन गर्ने अपेक्षा गरिएको छ । टिकट दर विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरू प्रवेशमा निःशुल्क छन् ।



