गृहमन्त्री अर्याल धनगढीमा, निर्वाचन सुरक्षा तयारी तीव्र

धनगढी- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशभर सुरक्षा तयारीलाई प्रभावकारी बनाउन गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार धनगढी पुगेका छन् । मंसिर १६ गतेदेखि सुरु हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल बिहान हवाई मार्गबाट धनगढी अवतरण गरेका हुन् ।

धनगढी आगमनका क्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेश प्रमुख तथा स्थानीय प्रशासनका अधिकारीहरूले विमानस्थलमै मन्त्री अर्याललाई औपचारिक स्वागत गरे ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेको छ । सोही निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले देशभर विभिन्न प्रदेशमा सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ । त्यसैअनुसार धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा गृहसचिव र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ । उनीहरूले प्रदेशकै सुरक्षा अवस्था, तयारी, चुनौती र समन्वयका विषयमा प्रत्यक्ष अध्ययन–अवलोकन गर्नेछन् ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशबाट प्रस्तुत गरिने सुरक्षा प्रतिवेदनमा समग्र शान्ति–सुरक्षाको वर्तमान अवस्था, अपराध नियन्त्रणका उपाय, तस्करी र नाकाबन्दी नियन्त्रण, सीमा सुरक्षाको रणनीति लगायत मुख्य विषय समेटिनेछन् । भारतसँगको खुला सीमाबाट सिर्जित जोखिम, आपराधिक समूहको गतिविधि, चुनावी समयका सम्भावित तनाव, स्थानीय तहसँगको समन्वय तथा सुरक्षा निकायबीच सहकार्यबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।

गृह मन्त्रालयका अनुसार गोष्ठीबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई आगामी निर्वाचनका लागि तयार गर्न लागिएको कार्ययोजनामा समावेश गरिनेछ । गोष्ठी सकिएपछि मन्त्री अर्यालले प्रदेशको सुरक्षा तयारीबारे अवलोकन प्रतिवेदन तयार पारेर काठमाडौँ पठाउने कार्यक्रम छ । सुरक्षा निकायले यसलाई चुनावलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।

Loading...