सुर्नया गाउँपालिकामा एक महिनादेखि तालाबन्दी, सेवाग्राही मारमा

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा एक महिनादेखि तालाबन्दी जारी रहेको छ । जेनजी समूहको अगुवाईमा गएको असोज २४ गते तालाबन्दी गरिएको थियो । गाउँपालिकाले माग गरेका सूचना उपलब्ध नगराको भन्दै तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी गरेको एक महिना बितिसक्दा समेत तालाबन्दी खुलेको छैन् ।

तालाबन्दी खोल्ने बिषयमा जेनजी समूह र पालिकाका प्रतिनिधिबीच चार पटक औपचारिक वार्ता हुँदा समेत निकास निस्कन सकेको छैन् । आफूहरुले गाउँपालिकालाई ११ बुँदे माग राखेको र मागका बिषयमा कार्यपालिका एकमत नहुँदा समस्या भएको जेनजी अगुवा विशाल भट्टले बताए ।

Navadurga sun

गाउँपालिकाले आफूहरुका मागप्रति वेवास्ता गरेका कारण लामो समयदेखि तालाबन्दी जारी रहेको उनले बताए ।जेनजी युवा समूहले राखेका मागका बिषयमा पटक–पटक छलफल हुँदा समेत निष्कर्ष नआएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । करार कर्मचारी हटाउने माग आएकाले कर्मचारी हटाउँदा सेवा प्रभावित हुने उनले दाबी गरे । अझै पनि छलफलका माध्यमबाट समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

यता गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले संघीय सरकारबाट यसअघि तलबभत्ता खाइपाई आएका कर्मचारीहरुको संघीय सरकारले तलबभत्ता रोकेपछि कार्यपालिकाबाट निर्णय नगरेरै तलब भत्ता खुवाएको देखिएकाले कार्यपालिकामा सहमति हुन नसकेको बताइन् । हरेक कुरा कार्यपालिकाबाट निर्णय गर्नुपर्ने भएपनि कार्यपालिका छलेर निर्णय गर्दा समस्या भएको उनले बताइन् ।

गाउँपालिकामा एक महिनादेखि तालाबन्दी हुँदा सेवाग्राही भने मारमा परेका छन् । एक महिनादेखि तालाबन्दी हुँदा नागरिकले पाउने सेवा पाउन सकेका छैनन् । यस्तै तालाबन्दीकै कारण सामाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेको छैन् ।

जेनजी समूहले आफूहरुका माग सम्बोधनका बिषयमा कार्यपालिका एकमत भएर माग सम्बोधन गरे समस्या समाधान हुने बताएको छ । तर गाउँपालिकाको कार्यपालिका एकमत नहुँदा तत्कालै समस्या समाधान हुने छाँटकाट भने देखिएको छैन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...