

हरिश चन्द/डडेल्धुरा २० कार्तिक- बैतडीको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी पालिकालाई नमुना बनाउने अभियानमा सक्रिय रूपमा लागि परेका छन् । उनी आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट र परिणाममुखी बनाउन निरन्तर प्रयासरत छन् ।


विकट क्षेत्रका जनताको समस्या र आवश्यकतालाई नजिकबाट बुझेर हरेक कार्यलाई परिणाममुखी बनाउन धामी राज्यले निर्धारण गरेको समयभन्दा बढी समय पालिकाको काममा बिताइरहेका छन् ।



धामी पालिकामा आएपछि अन्य कर्मचारीहरूलाई पनि सोही अनुसार जिम्मेवार र अनुशासित बनाउँदै कामकाजमा सुधार ल्याएका छन् । पालिका प्रमुख गोरख बहादुर चन्दका अनुसार धामी आएपछि पालिकामा सुशासन, पारदर्शिता र मिडियासँगको सहकार्य बढेको छ । कार्यालयका नियमित गतिविधिहरू पारदर्शी ढंगले अघि बढ्न थालेका छन् । कर्मचारीहरूलाई काम गर्न सजिलो भएको जनप्रतिनिधि र कर्मचारीहरूले बताउने गरेका छन् ।

कृषि तथा पर्यटन प्रवद्र्धन, रोजगारी र पूर्वाधार विकास, उत्पादनमुखी आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत गरिबी, असमानता र बेरोजगारी अन्त्य गर्ने उद्देश्यका कार्यक्रम सञ्चालन भइरहेका चन्दले जानकारि दिनु भयो । उहाँका अनुसार हाम्रो नारा ‘ हामी सबैको एउटै स्वर, समृद्ध र समुन्नत विकास सहितको पञ्चेश्वर सरसफाइ अभियान ‘ अन्तरगत सबै कर्मचारी राजनीतिक दल लागि परेको समेत बताउनु भयो ।
योजना अनुगमन, विकास निर्माण मात्र नभई जनमुखी, मुस्कानसहितको पारदर्शी र सुशासनयुक्त सेवा प्रदान गर्ने योजना बनाइरहेका छन् । पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका नीतिहरूको पालनामा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी बनाएका छन् ।
पालिका प्रमुख गोरख बहादुर चन्दका अनुसार, धामीले आर्थिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत रूपमा अघि बढाएका छन् ।जनताको चाहना र गुनासा सुन्नका लागि पालिकामा गुनासा पेटिका, सूचना अधिकारी र प्रत्यक्ष जनसम्पर्क प्रणालीको व्यवस्था गरिएको छ । सेवा जनतामाझ पुर्याउन नगरपालिकाले नीतिगत स्तरमै सुधारका कदम चालेको छ ।
स्थानीय देब बहादुर चन्द अनुसार, प्रमुख प्रशासकीय अधिकृत र पालिका प्रमुख गोरख बहादुर चन्द आर्थिक भार घटाउने, पारदर्शिता बढाउने र जनमुखी सेवा प्रणाली विकास गर्ने कार्यमा सक्रिय छन् ।






