

लक्ष्मी भट्ट/अत्तरिया- बाह्रवन वन साझेदारी वन उपभोक्ता समूह, गौरीगंगा नगरपालिका–६ वनबेहडाको आठौं वार्षिक साधारण सभा शनिबार अत्तरियास्थित पतञ्जली योग भवनमा भव्य रूपमा सम्पन्न भएको छ ।


कार्यक्रमको अध्यक्षता वन सहकारीका अध्यक्ष वीरबहादुर चोखालले गर्नु भएको थियो भने उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सु.प्र. प्रदेश सचिव दीर्घनारायण कोइराला प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन वन अधिकृत कृष्ण बोहराले गर्नु भएको थियो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रणबहादुर चन्द्र भारताल, वन उपभोक्ता समितिका अध्यक्ष यादवप्रसाद भण्डारी, तथा गौरीगंगा साझेदारी वनका अध्यक्ष बलबहादुर महता विशिष्ट अतिथि रहनुभएको थियो । स्वागत मन्तव्य सामुदायिक वनका सदस्य राजेन्द्र जोशीले प्रस्तुत गर्नुभएको थियो ।
मुख्य अतिथि कोइरालाले आफ्नो सम्बोधनमा साझेदारी वन तथा सामुदायिक वन सम्बन्धी नीति, नियम र अधिकारका विषयमा उपभोक्ताहरूमा ज्ञान र चेतना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनका उपभोक्ताहरू नजिकका हुन्छन् भने साझेदारी वनका उपभोक्ताहरू टाढाटाढाका पनि हुन्छन् । दुवै वनका उपभोक्ताहरूले पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिनुपर्छ ।”

कोइरालाले बाह्रवन साझेदारी वनलाई उत्कृष्ट साझेदारी वनमध्ये एक भएको उल्लेख गर्दै यसले गरिब तथा निम्न वर्गीय जनतालाई प्राथमिकता दिएको बताए । उहाँले थप गर्नुभयो, “सरकारले मात्र वन जोगाउन नसकेकाले सामुदायिक तथा साझेदारी वनको नियमावली ल्याइएको हो, जसले स्थानीयहरूलाई वन जोगाउने र घाँस, दाउरा, काठ आदिको उपयोग गर्ने अधिकार प्रदान गरेको छ ।”
समूहका अनुसार यस साझेदारी वनको अनुमानित आय रु. 168587195 (एक करोड छयसत्तरी लाख अठ्ठाउन्न हजार एक सय पन्चानब्बे) रहेको छ ।
यो साझेदारी वनले जीविकोपार्जन तथा गरिबी न्यूनीकरण, सामाजिक विकास, तालिम, दलित–महिला तथा विपन्न वर्ग उत्थान, अवलोकन कार्यक्रम लगायतका क्षेत्रमा खर्च गर्दै आएको छ ।
वन उपभोक्ता समूहले हालसम्म कम्प्युटर, सिलाई कटाई, ब्युटीपार्लर, कपाल काट्ने, दुना–टप्परी, कृषि, टेक्निसियन लगायतका सीपमूलक तालिमहरू सञ्चालन गरेको छ ।
त्यसैगरी डडेलो नियन्त्रण, गरिब तथा जेहेनदार विद्यार्थी सहयोग, उत्कृष्ट कृषक प्रोत्साहन, कृषि अनुदान लगायतका सामाजिक तथा उत्पादक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।

