




दशैँ-तिहारको लामो बिदामा गाउँघर जाँदा पढ्नका लागि पुस्तक लैजान नभ्याउनु भएको हुन सक्छ । प्रतिकूल मौसमका कारण घरमै बस्नु भएको हुन सक्छ । वा कतै लामो यात्रामा निस्किनु भएको हुन सक्छ । यस्तो अवस्थामा के पढ्ने भन्ने चिन्तालाई पुस्तकालय डट ओआरजीमा रहेको ओपन डिजिटल लाइब्रेरीले हटाउन सक्छ ।






यो निःशुल्क प्रयोग गर्न सकिने लाइब्रेरीमा कक्षा १ देखि १२ सम्मका पुस्तक, विभिन्न साहित्यिक विधाका पुस्तक तथा बाल पुस्तकहरू उपलब्ध छन् । यस डिजिटल लाइब्रेरीमा नेपाली साहित्यका ७००, बाल साहित्यका ७५४ र अन्य विधाका १९४ पुस्तकहरू सङ्ग्रहित छन् । त्यसैगरी अङ्ग्रेजी साहित्यका १६०० भन्दा बढी र अङ्ग्रेजी बाल साहित्यका ११२२ सामग्री पनि यहाँ पाइन्छन् ।






नेपाली र अङ्ग्रेजीबाहेक संस्कृत, थारु, नेपाल भाषा जस्ता अन्य भाषाका पुस्तकहरू पनि यस लाइब्रेरीमा उपलब्ध छन् । वेबसाइटमा गएर सोझै पुस्तक पढ्नका लागि कुनै अकाउन्ट बनाउनु पर्दैन । तर, पुस्तक डाउनलोड गरेर अफलाइन पढ्नका लागि भने अकाउन्ट आवश्यक पर्छ ।
यस प्लेटफर्ममा पुस्तक पढ्ने मात्र होइन, अडियोबुक सुन्ने, भिडिओ हेर्ने र विभिन्न अभ्यास गर्ने सुविधा पनि रहेको छ । नेपाली साहित्यका पुस्तक निःशुल्क पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । आफ्नो रुचि अनुसार अन्य पुस्तक पनि अन्वेषण गर्न सक्नुहुन्छ ।

