शुक्लाफाँटा फुलेलीस्थित सामुदायिक वनमा चोरी–शिकारी र अवैध उत्खनन बढ्यो

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पछिल्लो समयमा वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका छन्।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार, राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी र वन्यजन्तुको बच्चा समाउँदै आएका छन्।

उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति नलिई घाँस, दाउरा र डालेघाँस संकलन गर्ने, साथै सामुदायिक वन क्षेत्रभित्र अनधिकृत चरिचरन गर्ने कार्य पनि गरिरहेका छन्।

अध्यक्ष महराले बताएअनुसार, वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ।

साथै, चोरी–शिकारी नियन्त्रणका लागि जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानी उपकरणहरू पनि तोडफोड गरिएका छन्। सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा र रातो माटो उत्खनन भइरहेको उनले जानकारी दिएका छन्।

अध्यक्ष महराले भने, “सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ। यदि यस्ता कार्य जारी रहे, हामी वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुनेछौँ।”

सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तु चोरी–शिकारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

Loading...